
नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीले सञ्चालन गरेको राष्ट्रिय जागरण अभियान प्रभावकारी हुन नसकेको धारणा ब्यक्त गरेका छन् । संघीयतासहितको संविधान जारी गरेको कांग्रेसकै संगठन संविधान अनुरुपको संरचनामा जान नसक्नुले हाल सञ्चालन गरिएको जागरण अभियान प्रभावकारी हुन नसकेको उनको भनाइ थियो ।
सोमबार बिहान ठमेलस्थित आफ्नै निवासमा कांग्रेसका जिल्ला समन्वय समितिका सभापति तथा पदाधिकारीहरुसँगको भेटघाटमा बोल्दै नेता सिंहले यस्तोे भनाइ राखेका हुन् ।संविधानअनुसार पार्टीको संरचना नबनाउँदा धेरैलाई जिम्मेवारी दिन नसकिएको र पार्टी नेता(कार्यकर्ताहरुमा निराशा छाएको उनको गुनासो थियो ।
कांग्रेसका पूर्व महामन्त्रीसमेत रहेका नेता सिंहले पार्टी संस्थागत रुपमा चल्न नसकेकाले लथालिङ्ग अवस्थामा पुगेको धारणा राखे । पार्टीलाई सुधार्नुपर्छ भनेर कुरा उठाउँदा नेतृत्वको विरोध गरेको आरोप आफूले खेप्नु परेको गुनासो पनि सिंहको थियो ।
कांग्रेस बलियो भएमात्र लोकतन्त्र बलियो हुने बताउँदै उनले व्यक्तिलाई नभई पार्टी संगठनलाई केन्द्रमा राखेर काम गर्न कार्यकर्ताहरुलाई निर्देशन दिए ।
भेटघाटमा राजधानीमा उपलब्ध जिल्ला सम्पर्क समितिका सभापतिहरु र पदाधिकारीसमेत गरी दुई दर्जन बढीको सहभागीता थियो । नेता सिंहले सम्पर्क समितिहरुको भूमिका प्रभावकारी बनाउन आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता पनि जनाएका थिए ।