
नेत्रविक्रम चन्द चन्द( विप्लव) नेतृत्वको नेकपाका कार्यकर्ताहरुले सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–३ छेस्कामस्थित प्रहरी चौकी कब्जा प्रयास गरेको छ । समाचार श्रोतका अनुसार करिब ३० जनाको समुहमा आएका विप्लवका लडाकुले प्रहरी चौकी कब्जा प्रयास गरेका हुन् ।
मध्यराति १२ बजेको समयमा विप्लवका कार्यकर्ता चौकीमा पुगेका थिए । विप्लवका कार्यकर्ता चौकीतर्फ आउँदै गरेको सूचना पाएपछि ७ जना प्रहरी हतियार सहित सुरक्षित स्थानमा गएका थिए । प्रहरी नभेटेपछि उनीहरु बिहान ३ बजेसम्म चौकी आसापासकै क्षेत्रमा बसेका थिए ।
चौकी कब्जाको प्रयास पछि अहिले जिल्ला प्रशसन कार्यालयमा सुरक्षा समितिको वैठक बसिरहेको छ ।
बैठकमा नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग, सशस्त्र प्रहरी प्रमुख तथा गृहका उच्च अधिकारीहरू छन्। गृहले यसलाई ‘नियमित बैठक’ भनेको छ। गृह स्रोतका अनुसार विप्लव माओवादीबाट त्यहाँ हुनसक्ने सम्भावित गतिविधि रोक्न रणनीति बनाउने उद्देश्यले बैठक डाकिएको हो।
पछिल्लो प्राप्त समाचार अनुसार सोलुखुम्बुबाट प्रहरी नायब उपरीक्षक शालिकराम शर्माको टोली छेस्का पुगिसकेको छ । प्रहरी सहायक निरीक्षकको नेतृत्वमा रहेको प्रहरी चौकी खाली गराइसकिएको छ । त्यहाँका प्रहरीलाई आइतबार राति नै सुरक्षित स्थानमा सारिएको छ।
प्रहरीले नेपाली सेनासँग हेलिकप्टर मागेको छ । सोलुखुम्बुमा हवाई गस्तीका लागि प्रहरीले सेनाको एमआई–१७ हेलिकप्टर मागेको हो । उक्त हेलिकप्टर तयारी अवस्थामा राखिएको जनाइएको छ ।