
धरान उपमहानगरपालिकामा डेंगुको संक्रमण बढ्दो देखिएको छ । यसै संक्रमणका कारण ७० जना बिरामी परिसकेका छन् । उपमहानगरभित्रका २० वटै वडाका मानिसहरू लामखुट्टेको टोकाइबाट लाग्ने डेंगु ज्वरोबाट प्रभावित भएका छन् ।
दिनहुँ बिरामी बढेपछि उपमहानगरले प्रदेश र केन्द्र सरकारसँग सहयोग मागेको छ । डेंगु नियन्त्रण गर्न सहयोग गरिदिन प्रदेश र केन्द्र सरकारलाई पत्राचार गरेको नगरपालीकाले जनाएको छ ।
अहिले लामखुट्टेका लार्भा र फूल मार्न फगिंङको काम भए पनि प्रभावकारी भएको छैन । बिरामीहरूमा ज्वरो आउने, हाड जोर्नी दुख्ने, वाकवाकी लाग्ने, टाउको दुख्नेजस्ता लक्षण देखिएका छन् ।
संक्रमित बिरामीलाई टोकेको लामखुट्टेले स्वस्थ मानिसलाई टोकेपछि बिरामीको शरीरमा रहेको डेंगुको भाइरसबाटै अन्यलाई सर्दै गएको छ । डेंगु ज्वरोको उपचार नभए पनि संक्रमित बिरामीलाई चिकित्सकहरूको रेखदेखमा राख्दा लक्षणहरू हराउँदै जान्छ ।