
सिन्धुली । प्रदेश सरकारको सहयोगमा सिन्धुलीमा यो बर्ष १२ वटा कृषि सडक निर्माण हुने भएको छ । स्थानीयस्तरमा यातायातको पँहुच पुर्याई कृषकले उत्पादन गरको कृषि उपजलाई बेचबिखनमा सहयोग पुर्याउने उद्देश्यले प्रदेश सरकारको तीन करोड ८१ लाख रुपैया सहयोगमा कृषि सडक निर्माण थालिएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।
केन्द्रका अनुसार स्थानीय उपभोक्ता समितिमार्फत सडक अहिले धमाधम निर्माण भईरहेको छ । प्रदेश ३ को भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले १५ दिने सूचना निकालेर प्रस्ताव माग गरेकोको १९ वटाले पेश गरेका थिए । मन्त्रालयकै कर्मचारीको टोलीले स्थलगत अध्ययन गरि १२ वटा साना कृषि सडक निर्माण तथा मर्मतका लागि छनौट गरेको हो ।
गत बैशाख १३ गते स्थानीय उपभोक्तासँग सम्झौता गरेपछि कृषि सडक निर्माण कार्य तीब्र रुपमा भईरहेको छ। उनले भने, “अधिकांस कृषि सडकको निर्माण कार्य ८० प्रतिशत भन्दामाथि भई सकेको छ । निर्माणाधिन यि कृषि सडकको लम्बाई कम्तिमा २६ सय मिटरदेखि १० किलोमिटरसम्म रहेको छ ।”
ग्रामीण सडक नभएको ठाँउ, सडककै अभावमा कृषकले यान्त्रीकरण गर्न नपाएको ठाँउ र कृषकको उत्पादनलाई बजारिकरण गर्न मुख्य सडकसँग जोड्ने गरी यि कृषि सडक निर्माण गरिएको छ । कमलामाई नगरपालिकामा चार वटा, दुधौली नगरपालिकामा चार वटा, गोलान्जोर गाँउपालिकामा दुई वटा र ध्याङलेख गाँउपालिकामा दुई वटा कृषि सडक निर्माण भएका छन् ।
केन्द्रका अनुसार कमलामाई नगरपालिकाको वडा नं २ मा ३० लाख रुपैयाको लागतमा निपानेदमार –डुडखोला–तीनतले–खयरसाल–मछेनी सडक, वडा नं ७ मा ३१ लाख रुपैयाको लागतमा चुवारदेवीस्थान– थाक्लेफेदी सडक, वडा नं ८ मा २६ लाख रुपैयाको लागतमा तीनतले माईशिर हुदै गोठखोलासम्मको सडक र वडा नं ११ मा ३१ लाख रुपैयाको लागतमा फिटिङ– भिरगाँउ – तेर्सेखड्कुले सडक धमाधम निर्माण भई रहेको छ ।
त्यस्तै दुधौली नगरपालिकाको वडा नं २ मा ४९ लाख रुपैयाको लागतमा रतनपुर बसनियादेखि तल्लो भलुवाही सडक, वडा नं ५ मा ३१ लाख रुपैयाको लागतमा मझौरामिल–रातमाटे रिठ्ठे औल–गुम्बा सडक, वडा नं १० मा ३१ लाख रुपैयाको लागतमा खत्रीचौर–धौले–मनवा सडक र वडा नं १२ मा ३१ लाख रुपैयाँको लागतमा जिनाखु चियावगन–फिक्कल दमार सडक निर्माण भई रहेको छ ।
गोलान्जोर गाँउपालिका अन्तर्गत वडा नं। २ मा ३१ लाख रुपैयाको लागतमा बितिजोरखोला होमाल्डी हुदै फड्के धापचौकी सडक र वडा नं ५ मा ३६ लाख रुपियाको लागतमा वडा कार्यालय – चिसापानी – भक्तिराम सडक निर्माणाधिन अवस्थामा छ । ध्याङलेख गाँउपालिकाको वडा नं १ मा ३६ लाख रुपैया लागतमा खट्टार –बुक्ति–पटबास सडक र चौतारा थलागाँउ–महाभारत सडक निर्माण भईरहेको छ ।