Logo
०९ असोज २०७७
(Friday 25th September 2020)

असारदेखि काठमाडौंमा दिनभर मालबाहक सवारी चलाउन रोक



आगामी असार १ गतेदेखि काठमाडौंमा विहानदेखि बेलुकासम्म मालबाहक सवारी चलाउन रोक लाग्ने भएको छ । बिहान ८ बजेदेखि बेलुकी ७ बजेसम्म रिंगरोडसहित विभिन्न नाकाबाट मालवाहक सवारी उपत्यका भित्र्याउन पाइने छैन ।

यो व्यवस्था सार्वजनिक बिदाका दिन भने लागू नहुने यातायात व्यवस्था विभागले जनाएको छ । आपत्कालीन र अत्यावश्यक सेवामा प्रयोग भएका बाहेकका सवारीलाई तोकिएको क्षेत्रमा बिहानदेखि साँझसम्म प्रवेश र सञ्चालन नगर्न विभागले सूचित गरेको छ । दूध, तरकारी, फलफूल, पानी, कुखुराका चल्ला पानी, पेट्रोलियम पदार्थ, लगायतका सामग्री बोकेका सवारीलाई भने रोक लगाईने छैन् ।

काठमाडौंको मुख्य नाकामा अत्यधिक जाम हुन थालेपछि विभागले यस्तो कदम चालेको हो । काठमाडौं उपत्यकाभित्र मालबाहक सवारीको संख्या बाक्लिँदै गर्दा त्यसले रिंगरोड क्षेत्रमा पनि जाम बढेको भन्दै नाकाहरुमै रोक्ने गरी निर्णय भएको विभागले जनाएको छ । काठमाडौं र ललितपुरको चक्रपथभित्रको सबै क्षेत्र र भक्तपुरको भित्री शहरी क्षेत्रमा पनि यो प्रावधान लागू हुनेछ ।

त्यसैगरी चक्रपथ बाहिरको चाबहिल-जोरपाटी सडक, गोपीकृष्ण-कपन सडक, नारायणगोपाल चोक-बुढानीलकण्ठ सडक, बालाजु बाइपास-गोलढुंगा सडक, बगडोल-नख्खु सडक, सातदोबाटो-हरिसिद्धी सडक, ग्वार्को-चापागाउँ सडकमा विहान ८ बजेदेखि बेलुकी ७ बजेसम्म मालबाहक सवारी सञ्चालनमा रोक लगाईने जनाइएको छ ।

नागढुंगाबाट काठमाडौं प्रवेश गर्ने मालबाहक सवारी दिउँसो धादिङकै सडक खण्डमा रोकिनुपर्ने भएको छ । त्यस्तै टोखाको बाटो आउने सवारी पनि माथिल्लो भागमै रोकिनुपर्ने छ । ककनीको रुट हुँदै आउने मालबाहक सवारी गोलढुंगा अघि नै रोकिनुपर्ने छ । उनीहरुलाई रात परेपछि मात्रै काठमाडौंभित्र प्रवेश गर्न दिईनेछ

प्रतिक्रिया दिनुहोस्