Logo
१९ असार २०७८
(Saturday 3rd July 2021)

रोल्पामा पहिरोमा परी एक महिलाको मृत्यु



रोल्पामा भारी वर्षाका कारण गएको पहिरोले पुरिँदा एक जनाको मृत्यु भएको छ। पहिरोले लुग्री गाउँपालिकाको कार्यालयमा समेत क्षति पुर्‍याएको छ।

शनिबार दिउँसो ४ बजेदेखि करीब आधा घण्टा परेको पानीले गाउँपालिका कार्यालयको माथिबाट आएको पहिरोले पुर्दा कार्यालयसँगै रहेको घरमा बाहिर कुलेसो काट्दै गरेकी गौमाला माझीको मुत्यु भएको हो।

अन्दाजी ४८ वर्षीया माझीको डोजर लगाएर निकाल्ने प्रयास भइरहेको छ। ४.३० बजे पुरिएकी महिला ठूलो पहिरोमा पुरिएकाले निकाल्न समय लाग्ने उद्धारमा खटिएका गाउँपालिकाका कृषि प्राविधिक दिलबहादुर केसीले जानकारी दिए। उनका परिवार भने सकुशल रहेको बताइएको छ।

माझीसँगै उनको घरसमेत पहिरोमा पुरिएको छ। पहिरोले स्वास्थ्य कार्यालयको भवनमा समेत क्षति पुर्‍याएको छ भने दुई निजी मोटरसाइकलसमेत पुरेको छ। गाउँपालिकाको भुइँतलाको दुइवटै सटर पूर्ण रूपमा पुरिएको छ।

सरकारी नम्बरप्लेटको मोटरसाइकललाई पहिरोले क्षति पुर्‍याएको छ। अन्य क्षतिको विवरण भने आउन बाँकी नै छ। अझै पनि पानी पर्न सक्ने सम्भावना भएकाले पहिरोले थप क्षति पुर्‍याउन सक्ने भएकाले सजग हुन पहिरो नजिकका स्थानीयवासीलाई आग्रह गरिएको गाउँपालिकाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्