विप्लव पनि नेकपामा आउने प्रचण्डको उद्घोष
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेत्रविक्रम चन्द विप्लव पनि नेकपामै फर्किनुपर्ने बताएका छन् ।
विप्लव नेकपाका पोलिटब्युरो सदस्य पदम राईलाई पार्टी प्रवेश गराउँदै प्रचण्डले भने, ‘पदम राईको प्रवेश एकताको कडी हो, यो रोकिदैन । एक दिन विप्लव पनि यही आउनुपर्छ ।’
नेकपा प्रवेश गरेका नेता राईलाई पार्टीमा उचित स्थान र जिम्मेवारी दिने प्रचण्डले बताए ।
राईले आफू सुरक्षा खोज्नका लागि नभई देशलाई द्वन्द्वमा जानबाट बचाउँन आफू नेकपामा प्रवेश गरेको दाबी गरे । देशले विगतमा ठूलो द्वन्द्व खेपेको भन्दै अब देशले ठूलो द्वन्द्व धान्न नसक्ने उनको भनाई थियो ।
विप्लव नेकपाबाट निष्कासित
सत्तारुढ नेकपामा प्रवेश गरेका पोलिट्ब्युरो सदस्य पदम राईलाई विप्लव नेतृत्वको नेकपाले साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासन गरेको छ ।
पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डले विज्ञप्ति प्रकाशित गरी रूपान्तरण र उपचारको अथकप्रयास गर्दागर्दै असम्भव भएको र पार्टी नीति र कार्यक्रमको विरुद्ध गएपछि गत स्थायी समिति बैठकले निलम्बन गरेका पदम राई झन्झन् पार्टीकाविरुद्ध अन्तर ध्वंस र अपराधपूर्ण कार्यमा संलग्न भएकाले पार्टी साधारण सदस्यसमेत नरहनेगरी निष्कासन गरिएको उल्लेख गरिएको छ ।