खानेपानी मन्त्रीद्वारा स्यानिटरी प्याड भेन्डिङ मेसिनको सुरुवात
खानेपानी मन्त्रालयले छैटौँ अन्तर्राष्ट्रिय महिनावारी स्वच्छता दिवसको अवसरमा महिलाहरूले प्रयोग गर्ने स्यानिटरी प्याड भेन्डिङ मेसिनको सुरुवात मन्त्रालयको भवनबाटै सुरु गरेको छ । खानेपानी मन्त्री बिना मगरले महिलाहरूलाई महिनावारीको समयमा समस्या नपरोस् भन्ने उद्देश्यले मन्त्रालयको भवनमा स्यानिटरी प्याड भेन्डिङ मेसिनको सुरुवात गरेकी हुन् ।
दुई रुपैयाँको सिक्का हालेपछि उक्त मेसिनबाट प्याड आफै निस्कने गर्दछ । मन्त्रालयमा कार्यरत महिला कर्मचारीहरू र काम विशेषले आउने जो कोही महिलाहरूले समेत उक्त प्याड प्रयोग गर्न सक्नेछन् । मन्त्रालयको महिला शौचालयमा प्याड मेसिन जडान गरिएको छ । मेसिनको सुरुवात गर्दै मन्त्री मगरले यस्तो प्रविधिको मेसिन विभिन्न सार्वजनिक महिला शौचालयहरूमा राख्दै लगिने बताएकी छन् । उनले भनिन्, ‘यो त हामीले सुरुवात मात्र गरेका हौँ । महिनावारी हुने समयमा महिलाहरूलाई समस्या पर्ने गर्दछ । अझ सार्वजनिक महिला शौचालयहरूमा यस्तो मेसिन राख्न पाइयो भने महिलाहरूलाई धेरै सहज हुने गर्छ । हामी बिस्तारै अन्य ठाउँहरूमा राख्दै जानेछौँ ।’
मन्त्रालयले महिला तथा बालबालिका मन्त्रालयको भवनमा समेत स्यानिटरी प्याड भेन्डिङ मेसिन जडान गरेको छ । त्यस्तै खानेपानी तथा ढल व्यवस्थापन विभागले पहिलो चरणमा सातै प्रदेशको नौ वटा ठाउँहरूमा महिला तथा अपाङ्ग मैत्री स्मार्ट शौचालय बनाउने तयारी समेत गरेको छ । यी स्मार्ट शौचालयहरूमा स्यानिटरी प्याड भेन्डिङ मेसिन समेत जडान गरिने विभागकी उपमहानिर्देशक मिना श्रेष्ठले जानकारी दिएकी छन् ।
यसैबिच खानेपानी मन्त्री बिना मगरले महिनावारी हुँदा महिलाहरूमाथि गरिने धार्मिक तथा सामाजिक विभेदको अन्त्य घरबाटै सुरु गर्नुपर्ने बताएकी छन् । छैटौँ अन्तर्राष्ट्रिय महिनावारी स्वच्छता दिवसको उपलक्ष्यमा राष्ट्रिय महिनावारी सञ्जाल र राष्ट्रिय सरसफाइ तथा स्वच्छता समन्वय समितिले राजधानीमा गरेको कार्यक्रममा बोल्दै मन्त्री मगरले महिलाहरूमाथि हुने उत्पीडन र विभेदको अन्त्य गर्न सबै मिलेर अभियान नै चलाउनुपर्ने बताएकी हुन् ।
महिनावारी प्राकृतिक नियमित प्रक्रिया भएको बताउँदै उनले महिलाहरूमाथि गरिएको व्यवहार अपमानजनक रहेको र यसले महिलालाई चोट पु(याउने गरेको बताइन् । मन्त्री मगरले भनिन्, ‘ महिनावारी त मानव सृष्टिको लागि हुने नियमित प्रक्रिया हो । तर हामीले यसलाई धर्म, संस्कृति र परम्परासँग जोडेका छौँ । महिनावारीप्रति रहेको हाम्रो गलत धारणा तुरुन्त परिवर्तन गर्नुपर्छ । यस्तो विभेद घर, गाउँ र समाजबाटै अन्त्य गर्ने अभियान चलाउनुपर्छ ।’