
उपप्रधान एवं स्वास्थ्य मन्त्री उपेन्द्र यादवले संविधान संशोधन नभए सरकारमा नबस्ने चेतावनी दिएका छन् ।शुक्रबार भैरहवामा आयोजीत प्रदेश नम्बर ५ स्तरीय अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्नुअघि पत्रकारहरुसँग कुराकानी गर्दै समाजवादी पार्टीका अध्यक्ष समेत रहेका उप्रधानमन्त्री यादवले यस्तो चेतावनी दिएका हुन् । संविधान संशोधनको शर्तअनुसार आफ्नो पार्टी सरकारमा गएको उल्लेख गर्दै संविधान संशोधन गर्न सरकारले चासो नदेखाए आफूहरु सरकारमा बसिररहन नसक्ने चेतावनी दिएका हुन् ।
‘संविधान संशोधनको लागि दुई तिहाई आवश्यक पर्ने भएकाले हामीहरु सरकारमा गएका हौँ’, सरकारमा सामेल हुनका कारण उल्लेख गर्दै उनले भने, ‘प्रधानमन्त्री ओलीले संशोधन गर्छौँ भनिराख्नु भएको छ। तर अहिले सम्म संशोधनका लागि सरकारले सहयोग गरेको छैन । यदि सरकारले संविधान संशोधन नगरेमा आफूहरु यथास्थितीमा रहदैनौँ।’उनले दुई तिहाई भएर पनि सरकारले जनताको अपेक्षाअनुसार काम गर्न नसकेको दाबी गरे । विश्वका अधिकांश मुलुकबाट कम्युनिष्टहरु बढारिहेको अवस्थाको उल्लेख गर्दै भ्रष्टाचार नियन्त्रण, सुशासन कायमलगायतका काम गर्न नसके अन्य मुलुकजस्तै नेपालबाट पनि कम्युनिष्टहरु बढारिने उप्रधानमन्त्री यादवले चेतावनी समेत दिए ।
‘विश्वबाट कम्युनिष्टहरु बढारिहेको अवस्थामा यहाँ कम्युनिष्टको बहुमत सरकार छ र अहिले उनीहरुको लागि यो अग्निपरिक्षाको समय हो,’ उनले भने, ‘यदि कम्युनिष्ट नेतृत्वको सरकारले भ्रष्टाचार, विभेदको अन्त्य, संघीयताको संस्थागत लगायत काम गर्न सकेन भने कम्युनिष्ट इतिहासका पात्र हुनेछन् ।’