Logo
०२ जेठ २०७८
(Sunday 16th May 2021)

वैद्य भन्छन्: पार्टी मिलेपछि के को आलोपालो?



नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य किरणले पार्टी एकीकरण भइसकेपछि पनि दुई अध्यक्षले प्रधानमन्त्रीका लागि आलोपालो खोज्नु अमर्यादित र अशोभनीय हुने बताएका छन्। क्रान्तिकारी पत्रकार महासंघले शुक्रवार बिहान बुटवलमा गरेको पत्रकार सम्मेलनमा महासचिव वैद्यले पुष्पकमल दहाल प्रचण्डले दुईदिन अघि दिएको आलोपालो प्रधानमन्त्री बन्‍ने अभिव्यक्तिप्रति इंगित गर्दै यस्तो बताएका हुन्। वैद्यले पार्टी एकीकरणपछि प्रधानमन्त्रीका आलोपालो कुर्नु प्रचण्डका लागि अमर्यादित भएको आरोप लगाए। ‘पार्टी एकीकरण नगरेको भए प्रधानमन्त्रीमा प्रचण्डले पालो खोज्‍नु मर्यादित हुन्थ्यो। तर, एकीकरण गरिसकेपछि आलोपालो के का लागि?’ उनले प्रश्न गरे।

पत्रकार सम्मेलनमार्फत महासचिव वैद्यले प्रचण्ड र केपी शर्मा ओलीबीच गोप्य सहमतिप्रति असहमति राख्दै प्रधानमन्त्रीजस्तो पदलाई भागबण्डा गराउन नहुने बताए। ‘केपी ओलीले ३ वर्ष र प्रचण्डले २ वर्ष आलोपालोमा सरकार सञ्चालन गर्ने गोप्य सहमति भएको कुरा बाहिर आएको छ। मैले पनि सुनेँ। पार्टी एकीकरण भइसकेपछि सरकार आलोपालोमा चलाउने कुरा अमर्यादित र लज्जास्पद हुन्छ,’ उनले भने। उनले यस्ता अमर्यादित कुरा गरेर कम्युनिस्‍टका नाममा बनेको ओली नेतृत्वको सरकारले कम्युनिस्‍टकै बदनाम गरेको आरोप लगाए। वैद्यले पत्रकारसँग सरकारले आफ्ना गलत क्रियाकलाप सार्वजनिक हुने डरले मिडिया काउन्सिल विधेयक ल्याउन लागेको बताए।

प्रतिक्रिया दिनुहोस्