Logo
१२ असोज २०७७
(Monday 28th September 2020)

वामदेव पनि सरकार परिवर्तनको पक्षमा



फाइल तस्बिर

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सचिवालय सदस्य वामेदव गौतमले सरकारको नेतृत्व परिवर्तन गर्ने सहमति उल्लंघन भए पार्टी एकता सम्भव नभएको बताएका छन् ।

शुक्रबार प्रेस संगठन प्युठानले गरेको पत्रकार भेटघाटमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो धारणा ब्यक्त गरेका हुन्। गौतमले सरकारको नेतृत्व परिवर्तन हुनुपर्ने बताए पनि कहिले र कसरी हुने भन्ने विषयमा भने केही खुलाएनन् ।

सरकारको नेतृत्व परिवर्तन गर्ने सहमतिबारे पार्टीका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)को अभिव्यक्ति सार्वजनिक भएलगत्तै वामदेवले प्युठान आएर नेतृत्व परिवर्तनको प्रसंग उठाएका हुन् ।अर्को प्रसंगमा उनले सरकारले संसदमा प्रस्तुत गरेको बजेट जनपक्षीय भएको बताए । जनपक्षीय बजेटका कारण सरकारको प्रशंसा भइरहेको भन्दै उनले कार्यान्वयन भएरै छाड्ने दाबी गरे ।

स्वरोजगार सिर्जना गर्न देशमा भएका खानी उत्खनन गर्नुपर्नेमा उनले जोड दिए । सरकारले तत्काल गर्नुपर्ने र दीर्घकालीन गर्नुपर्ने योजनाहरु छुट्टाएर कार्यान्वयनमा अघि बढेको उनले बताए । भ्रष्टाचार नियन्त्रण गर्नुपर्ने भन्दै उनले भने, ‘सिस्टममा केही अप्ठ्यारा छन्, अब सफ्टवेयरमै परिवर्तन गरेर कार्यान्वयन गरिनेछ ।’

मिडिया काउन्सिल विधेयक, सार्वजनिक खरिद ऐनलगायतका थुप्रै ऐन संशोधन तथा नयाँ कानुन निर्माण गर्न आवश्यक रहेको नेता गौतमको भनाइ छ । भ्रष्टाचार नहोस् भनी बनाइएको सार्वजनिक खरिद ऐनले गैरकानुनी काम झनै बढेको उनको दाबी थियो ।पूर्वउपप्रधान तथा गृहमन्त्रीसमेत रहेका गौतमले आपराधिक गतिविधि शून्य हुन साम्यवाद आउनुपर्ने उल्लेख गरे । एकाध हुने आपराधिक घटनाको छानबिन गर्न सबै राजनीतिक दलले सहयोग गर्नुपर्ने उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्