
जल तथा मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनसम्म काठमाडौं उपत्यकासहित देशभर मेघ गर्जनसहित वर्ष हुने सम्भावना रहेको जनाएको छ । पूर्वमा बनेको न्यून चापीय रेखा र स्थानीय वायुको प्रभावका कारण काठमाडौं उपत्यकासहित देशभर तीन दिनसम्म आंशिक तथा सामान्य बदली हुनाका साथै मेघगर्जनसहित वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको हो। बुधबारदेखि पूर्वी क्षेत्रमा बनेको कमजोर न्यून चापीय रेखा र बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभावले बदलीसँगै हल्का तथा मध्यम खालको वर्षा हुने महाशाखाले जनाएको छ । विगाभको पूर्वानुमान अनुसार नै बिहिबार बेलुका पनि फाट्ट फुट्ट पानी परिनै रहेको छ ।
राति देशको पूर्वी क्षेत्र तथा मध्य र पश्चिमी पहाडी क्षेत्रमा सामान्य बदली रही बाँकी भागमा मौसम केही सफा भए पनि देशको पूर्वी भागका केही स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना रहेको उक्त महाशाखाले जनाएको छ ।
शुक्रबार देशको पूर्वी तथा मध्य भागमा आंशिकदेखि सामान्य बदली रहनाका साथै पश्चिमी पहाडी भेगका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको बताइएको छ । शनिबार देशको पूर्वी भागमा सामान्य बदली हुने र बाँकी भागमा आंशिक बदली हुनेछ । त्यस्तै पूर्वी तथा मध्य भागका केही स्थान र पश्चिमी पहाडी भेगका थोरै स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।