Logo
१५ मंसिर २०७७
(Monday 30th November 2020)

रङ्गशाला भत्काउने कँडेल निलम्बीत



नेपाल कम्युनिष्ट पार्टी  चितवनले निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको बार भत्काउने कार्यमा संलग्न पार्टीका स्थानीय नेता प्रकाश कँडेलसहित दुई जनालाई निलम्बन गरेको छ । पार्टीले कँडेललाई पूर्णरुपमा निलम्बन गरेको छ भने सोही घटनामा संलग्न भैरव बस्ताकोटीलाई दुई महिनाका लागि पार्टी सदस्यबाट निलम्बन गरेको हो । पार्टीले बिहिबार जारी गरेको विज्ञप्तिमा घटनामा संलग्न सबैलाई कानूनी कारवाहीको माग गर्दै क्षतिपूर्ति भराउन समेत आग्रह गरेको छ । पार्टीले सो घटनाप्रति दुःख व्यक्त गरेको छ ।

जिल्ला अध्यक्ष यमबहादुर परियार ‘इन्द्रजीत’ द्वारा हस्ताक्षर गरिएको विज्ञप्तिमा नेकपाले धुर्मुस सुन्तली फाउण्डेशनलाई यस्ता घटनाबाट विचलित नहुन आग्रह गर्दै हरदम साथ र सहयोगका लागि पार्टी तयार रहेको प्रतिबद्धता जनाएको छ । कँडेल र बस्ताकोटीसहित १७ जनालाई प्रहरीले पक्राउ गरिसकेको छ ।उनीहरुले बुधबार बिहान निर्माणाधीन रङ्गशालाको बार र सोही ठाउँमा यसअघि भएको तारे बार डोजर लगाएर भत्काएका थिए । उनीहरुले रङ्गशालाको जग्गाबाट पश्चिमतर्फ सडक चौडा गराउन माग गर्दै आएका थिए ।

प्रतिक्रिया दिनुहोस्