Logo
१४ मंसिर २०७७
(Sunday 29th November 2020)

पोलिटव्यूरो गठन सहमति नजिक



नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड पोलिटव्यूरो गठन गर्ने विषयमा सहमति नजिकपुगेका छन् ।  अनौपचारिक छलफलका आधारमा दुई अध्यक्ष पोलिटव्यूरो गठनको सहमति नजिक पुगेका हुन् । महासचिव विष्णु पौडेलले पोलिटव्यूरो गठन सम्बन्धि प्रस्ताव दुई अध्यक्षलाई बुझाएका छन् । त्यसै प्रतिवेदनका आधारमा दुई अध्यक्ष सहमति नजिक पुगेका स्रोतको दावी छ ।

पोलिटव्यूरो र कार्यविभाजनको प्रस्तावमा छलफल गर्न शनिवार बस्ने भनिएको  नेकपा सचिवालय बैठक स्थगित भएको छ । महासचिवको प्रस्तावमा थप छलफल गर्नुपर्ने भएको र पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओली बिहिवार नयाँ दिल्ली जानु पर्ने भएकाले १८ गते बस्ने भनिएको बैठक २० गतेका लागि सारिएको हो ।   ओली शुक्रवार काठमाडौं फर्किएपछि दुई अध्यक्षबीच छलफल हुने र सहमतीको विषय सार्वजनिक हुने श्रोतको दावी छ ।

नेकपामा धेरै नेता आकांक्षी भएकाले तत्कालका लागि पोलिटव्यूरो गठन गर्ने या नगर्ने भन्ने विषयमा दुई अध्यक्ष छलफलमा थिए । तर, पछिल्ला अनौपचारिक छलफलका क्रममा दुई अध्यक्ष पोलिटव्यूरो गठन र कार्यविभाजनमा सहमति नजिक पुगेकाले अब पोलिटव्यूरो गठन हुने निश्चित झै भएको छ । कार्यविभाजनमा भने अझै पनि दुई अध्यक्षले छलफल गर्ने भएका छन् । महासचिव पौडेलले तयार पारेको प्रस्तावका धेरै विषयमा दुई अध्यक्षबीच एकरुपता भएपनि केहीमा मिलाउन बाँकी रहेको अध्यक्ष निकट स्रोतको भनाई छ ।

नेकपामा धेरै नेता आकांक्षी भएकाले तत्कालका लागि पोलिटव्यूरो गठन नगर्ने की भन्ने विषयमा पनि दुई अध्यक्ष छलफलमा थिए ।  कार्यविभाजनमा संगठन विभागको जिम्मेवारीका विषयमा छलफल केन्द्रीत भएको छ । गृहमन्त्री रामबहादुर थापा बादललाई प्रधानमन्त्रीले संगठन विभागको प्रमुख बनाउनु पर्ने प्रस्ताव गरेका छन् । अर्का अध्यक्ष प्रचण्डले सरकार बाहिरको व्यक्तिलाई संगठन विभागको प्रमुख बनाउनु पर्ने तर्क गरेका छन् । प्रचण्डले सरकारमा भएको व्यक्तिलाई महत्वपूर्ण जिम्मेवारी दिदा सिथिल भएको संगठन उठ्न समस्या हुने तर्क अघि सारेका छन् । स्रोतका अनुसार संगठन विभागको प्रमुख जिम्मेवारी महासचिव पौडेललाई दिने विषयमा दुई अध्यक्ष सकरात्मक बनेका छन् ।

प्रतिक्रिया दिनुहोस्