Logo
१३ फाल्गुण २०७७
(Thursday 25th February 2021)

समाजवादको मोडलमा अघि बढ्न प्रचण्डको आह्वान



नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समाजवादको नयाँ मोडल दिने अभियानमा दृढतापूर्वक अगाडि बढ्न आव्हान गरेका छन् । सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापना नेपालको राजनीतिक इतिहासमा युगान्तकारी परिवर्तन भएको जिकिर गर्दै प्रचण्डले समाजवादको नयाँ मोडल दिने अभियानमा लाग्न सबैलाई आव्हान गरेका हुन ।

गणतन्त्र दिवसको अवसरमा शुभकामना दिदैं उनले भने, ‘सामन्ती, निरङ्कुश एवं एकात्मक व्यवस्थाको अन्त्य गर्दै देशमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको १२ वर्ष पूरा भएको छ । सर्वप्रथम म गणतन्त्र दिवसको सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा सुख, शान्ति, समृद्धि र निरन्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्दछु ।’

प्रचण्डले गणतन्त्र प्राप्तिको आन्दोलनमा आफ्नो जीवन उत्सर्ग गर्ने महान् सहिदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै सम्पूर्ण बेपत्ता योद्धाहरुप्रति उच्च सम्मान व्यक्त गरेका छन् । प्रचण्डले सम्पूर्ण घाइते योद्धाहरुको शीघ्र स्वास्थ्य लाभको कामना व्यक्त गर्दै गणतन्त्रको आन्दोलनमा आ–आफ्नो ठाउँबाट सहयोग र सद्भाव व्यक्त गर्ने सम्पूर्ण नेपालीमा हार्दिक आभार व्यक्त गरेका छन् ।

’मुलुकमा विद्यमान सामन्ती, निरङ्कुश तथा एकात्मक सत्ताको अन्त्य र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापना नेपालको राजनीतिक इतिहासमा युगान्तकारी परिवर्तन हो । जनताको वीरतापूर्ण सङ्घर्षकै बलमा मुलूकमा प्रगतिशील, गतिशील एवं समाजवादउन्मूख संविधान निर्माण भएको छ । संविधानमा व्यवस्था गरिएको मौलिक हकसम्बन्धि व्यवस्था, सङ्घीय शासन प्रणाली, समावेशी–समानुपातिक प्रणाली, सामाजिक न्यायजस्ता प्रावधानले समाजवादको तयारीमा लाग्न मार्गप्रशस्त्र गरेका छन् । यो नेपाल र नेपालीका लागि गौरवको विषय हो, सम्पूर्ण कम्युनिष्टहरुका लागि प्रेरणाको विषय हो ।’ प्रचण्डले शुभकामना सन्देशमा उल्लेख गरेका छन् ।

नेपाली जनताले समाजवादको आधार तयार पार्ने ऐतिहासिक दायित्व कम्युनिष्ट क्रान्तिकारीको काँधमा सुम्पिएको बताउँदैं प्रचण्डले वामपन्थी सरकार र नेपाल कम्युनिष्ट पार्टीमार्फत् समृद्धि र समानतासहित समाजवादको आधार तयार पार्नु मुख्य जिम्मेवारी हुन आएको बताए । उनले इतिहासले सुम्पिएको यस अवसरमा गौरबपूर्ण जिम्मेवारीलाई वहन गर्नु अवसर र चुनौति दुबै भएको तर्क गरे । उनले भनेका छन् ’म यस अवसरमा २१ औं शताब्दीमा विश्व मानव जातिलाई समाजवादको नयाँ मोडल दिने अभियानमा दृढतापूर्वक अगाडि बढ्न सम्पूर्ण कम्युनिष्ट क्रान्तिकारी र प्रगतिशील शक्तिलाई हार्दिक अपील गर्दछु ।’

राजनीतिक परिवर्तनलाई जनताको जीवन बदल्ने शासन पद्दतिका रुपमा स्थापित गर्दै समाजवादको आधार निर्माण गर्ने अभियानमा हातेमालो गर्न सम्पूर्ण नेपालीहरुमा प्रचण्डले हार्दिक अपील समेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्