Logo
१३ असोज २०७७
(Tuesday 29th September 2020)

गणतन्त्र दिवस जनताको विजय र कुलिनतन्त्रको पराजय भएको दिन :प्रधानमन्त्री ओली



प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्र दिवस जनताको विजय र कुलीनतन्त्रको पराजयको दिन भएको बताएका छन् । गणतन्त्र दिवसको अवसरमा बुधबार आयोजित कार्यक्रममलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।

गणतन्त्र आएको दिनलाई नेपाली जनताले वि.सं. १९९७ सालभन्दा पहिलेदेखिको अभिष्ट पूरा भएको दिनको रुपमा स्मरण गर्नुपर्ने प्रधानमन्त्री ओलीको भनाइ थियो । “वलजफ्ती थोपरिएको अन्यायका विरुद्ध न्यायको जीत हो । शताब्दीऔंदेखि दबाइएका मानिसका आकांक्षा, पीडा र आँशु गणतन्त्र वहालीको संघर्षका पत्रपत्रमा समाहित छन् ” प्रधानमन्त्री ओलीले भने “ लोकतान्त्रिक अधिकारबाट वञ्चित हुँदा पनि इश्वरीय देन यही हो भन्ने मानसिकताबाट जनता क्रमशः जागरुक हुँदै गएर वलिदानी भावनाका साथ अग्रसर भएपछि एक दिन आएको थियो, गणतन्त्रको निर्णायक मोड । तसर्थः हामीले हासिल गरेको गणतन्त्र र राजनीतिक उपलब्धिहरु जनताको कठोर संघर्ष र बलिदानका उपज हुन् । ”
प्रधानमन्त्री ओलीले ११ बर्ष अघि आजकै दिन नेपालमा जनताले गणतन्त्र स्थापना गरेर राजतन्त्रलाई इतिहासमा सीमित गर्ने सफलता प्राप्त गरेको स्मरण गरे । प्रधानमन्त्री ओलीले हरेक वर्ष गणतन्त्र दिवसलाई एउटा प्रगतिशील परम्पराको शुरुवात भएको दिनको रुपमा स्मरण गर्नुपर्ने बताए । प्रधानमन्त्री ओलीले गणतन्त्रका संस्थाहरु जनताद्वारा, जनताकालागि, जनताले नै निर्माण गरेको उल्लेख गरे । जनताको अभिमतको धरातलमा खडा भएका यी संस्थाहरुको सम्मान हुँदा मात्रै जनताको सम्मान हुने प्रधानमन्त्री ओलीको भनाइ छ ।
प्रधानमन्त्री ओलीले गरिवी र लोकतान्त्रिक गणतन्त्र सँगसँगै रहन नसक्ने बताएका छन् । समाजलाई समृद्ध बनाउनका लागि सुशासन र विकासलाई प्राथमिकतामा राखनुपर्ने प्रधानमन्त्री ओलीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्