Logo
०८ असार २०७८
(Tuesday 22nd June 2021)

तोकीएकै समयमा काम हुने सेनाको प्रतिबद्धता



नेपाली सेना काठमाडौं –तराई द्रुतमार्ग सडक आयोजना निर्माणको काम तोकिएकै समयभित्र सम्पन्न गर्ने प्रतिबद्धतामा यथाबत रहेको  छ । नेपाली सेनाका इन्जिनियरिङ विभाग प्रमुख एवं आयोजनाका प्रमुख उपरथी योगेन्द्रबहादुर खाँडले तोकिएकै समयभित्र काम सम्पन्न हुने गरी कामलाई अघि बढाइएको जानकारी दिएका हुन् । मंगलबार संघीय संसदको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा सो आयोजनाको हालसम्मको कार्य प्रगति विवरण पेस गर्दै उनले २०७९ साल असोज महिनाभित्र काम सम्पन्न गर्ने बताएका हुन् ।सो आयोजना अन्तर्गतको पुल निर्माणको कामलाई पनि सुरु गरिएको नेपाली सेनाले जनाएको छ । आयोजनाको ६ सय ५६ रोपनी जग्गा अधिग्रहणको काम बाँकी रहेको र त्यसलाई पनि अघि बढाउने प्रमुख उपरथी खाँडले बताए ।

आयोजनाले सुरुङमार्ग निर्माण हुने खण्डमा रुख कटानको कामलाई पनि सुरु गरिएको जनाएको छ । त्यसैगरी, सो आयोजनाको विस्तृत परियोजना प्रतिवेदन १० करोड लागतमा निर्माणका गरिएको र त्यो स्वीकृतिका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पेस गरिएको पनि जनाइएको छ । यसैबीच, राष्ट्रिय सरोकार तथा समन्वय समितिले आयोजनाले तयार पारेको विस्तृत परियोजना प्रतिवेदन मन्त्रिपरिषद् बैठकबाट स्वीकृत गरी काठमाडौं–तराई द्रुतमार्ग सडक आयोजना निर्माणको कामलाई निर्धारित समयभित्रै सम्पन्न गर्न नेपाली सेनालाई सहज बाटो खोली दिन सरकारलाई निर्देशन पनि दिएको छ ।

प्रतिक्रिया दिनुहोस्