
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेकपाका रौतहट जिल्ला इन्चार्ज शंकर अधिकारीसहित तीनजनाले आत्मसमर्पण गरेका छन् ।अधिकारीसँगै आत्मसमर्पण गर्नेमा सञ्जीव कार्की र देवराज घिमिरे छन् । १० फागुनमा नख्खु बम विस्फोटको घटनापछि उनीहरु विप्लवका मध्यकमान्ड इन्चार्ज हेमन्तप्रकाश वली ‘सुदर्शन’ सँगै पक्राउ परेका थिए ।
सुदर्शनसहितका केही नेतालाई पुर्पक्षका लागि जेल चलान गरिए पनि उनीहरुलाई भने ललितपुर जिल्ला अदालतले आइतबार साधारण तारेखमा छाडेको थियो । अदालतले छाडेसँगै १२ जेठमा उनीहरुले ललितपुर जिल्ला प्रशासनमा आत्मसमर्पण गरेको ललितपुर प्रहरी प्रमुख एसएसपी रवीन्द्र धानुकले जानकारी दिए । उनीहरुले अबदेखि विप्लवको गतिविधि नगर्ने प्रतिबद्धता जनाएपछि छाडेको धानुकले बताए ।