Logo
१२ असोज २०७७
(Monday 28th September 2020)

बन्दका कारण देशभरी जनजिवन प्रभावित



नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले गरेको नेपाल बन्दले देशभरको जनजीवन प्रभावित भएको छ । राजधानी काठमाडौं लगायत देशभरिका शिक्षण संस्था बन्द भएका छन् । लामो दूरीका सवारी साधन पनि चलेका छैनन्। ७ जेठका दिन भोजपुरमा प्रहरीको गोली लागेर आफ्ना कार्यकर्ता तीर्थराज घिमिरेको मृत्यु भएको विरोधमा विप्लव नेकपामा बन्द गरेको हो । यसै क्रममा बन्दकर्ताले विभिन्न ठाउँमा बम राखेको छ । पोखराको न्युरोड र सृजनाचोक नजिकै शंकास्पद वस्तु भेटिएको छ ।

पोखराको सृजनाचोक र फिर्केचोकको विचमा एनसेलको कार्यालय नजिकै कुकर बम भेटिएको र त्यसलाई नेपाली सेनाको टोलीले निस्क्रिय पारेको जनाइएको छ । आइतबार साँझ नै भेटिएको भए पनि राति डिस्पोज गर्दा स्थानीय सशंकित हुने कारण जनाउदै सोमबार बिहान नेपाली सेनाको बम डिस्पोजल टोली त्यहाँ पुगेको थियो । एनसेलको कार्यालय नजिकै रहेको कुकर बमलाई प्रहरीले रातिदेखि नै सुरक्षा दिएर राखेको थियो ।

त्यसैगरी पोखराको दरवारथोक मार्गमा रहेको इनोभेटीभ डेभलपमेण्ट एजुकेशन एकेडेमीको गेटमा झण्डासहित शंकास्पद वस्तु भेटिएको छ । यसैगरी, कास्की अन्नपूर्ण गाउँपालिकाको नौडाडामा पनि शंकास्पद वस्तु भेटिएको जानकारी प्रहरीले दिएको छ । स्थानीयले शंकास्पद बस्तु भेटिएको खबर गरे पनि बम हो या होइन भन्ने विषयमा अनुसन्धान भइरहेको छ ।
बन्दका कारण पोखराबाट छुट्ने लामो तथा छोटो दुरीको सार्वजनिक यातायात संचालन भएका छैनन् । फाट्टफुट् निजी सवारी साधन सञ्चालनमा आएको जनाइएको छ । मुख्य बजारका पसलहरु, स्कुल, कलेज, उद्योग बन्द छन् ।

बन्दकतर्ताले नवलपरासीको मध्यबिन्दु नगरपालिका–११, स्थित राजमार्गमा सिमेन्ट बोकेर नारायणगढतर्फ जाँदै गरेको लु २ ख १०८ नम्बरको ट्रकमा पेट्रोल बम प्रहार गरी आगजनी गरेका छन् ।
सोमबार बिहान नै ३३० बजेको समयमा कावासोती नगरपालिका–१६, स्थित पूर्व पश्चिम राजमार्गमा बा ३ च ९३ नम्बरको जीपमा पेट्रोल बम प्रहार गर्दा जीपमा सामान्य क्षति भएको छ । मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।

नवलपरासीकै बुलिङटार गाउँपालिकामा विस्फोटका लागि खेतमा राखिएको सिलिण्डर प्रहरीले नियन्त्रणमा लिएको छ । गाउँपालिकाका अध्यक्ष शशीकिरण बस्ताकोटीको घरदेखि ३०० मिटरको दूरीमा खेतमा सिलिण्डर राखी आगो लगाएको अवस्थामा सिलिण्डर पड्किनु पूर्वनै प्रहरीले सो सिलिण्डर नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक अर्जुन रानाभाटले जानकारी दिए।
सुर्खेतमा पनि बन्दको प्रभाव देखिएको छ । बन्दकर्ताले नै पूर्वीसुर्खेतमा एक यात्रुवाहक बसमा आगजनी गरेका छन्। गुर्भाकोट नगरपालिका–१४ को गुमीबाट छिन्चु जार्दैं गरेको ना२ख ७४४४ नम्बरको बसलाई गोचेखोलामा आगजनी गरिएको हो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार हतियारसहित आएका विप्लवका कार्यकर्ताले चालक, सहचालक र बसधनीलाई झारेर पेट्रोल छर्केर आगजनी गरेका थिए । आगजनीबाट बस पूर्णरुपमा क्षति भएको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्